1 min read
करबाकेली पदमार्ग

करबाकेली क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन करबाकेली बाबा संरक्षण समिति काफल डाँडाको अगुवाई एवं काठमाडौंस्थित कन्सेप्ट नेपालको टेक्निकल सहयोगमा भर्खरै नयाँ पदमार्ग करबाकेली पदमार्ग खोलिएको छ । यस पदमार्गले पुनहिल, फूलबारी र करबाकेली थानलाई बेनी बजार सँग जोड्छ ।

करबाकेली पर्यटन व्यवस्थापन समितिको अध्यक्ष यामबहादुर पुन, करबाकेलि बाबा संरक्षन समिति काफलडांडाको संरक्षक चाम बहादुर गर्बुजा पुन र करबाकेलि बाबा संरक्षन समिति काफलडांडाको संयुक्त पहलमा यो पद मार्ग खोलिएको हो। संरक्षक चाम बहादुर पुनको नेतृत्वमा कन्सेप्ट नेपालका पर्यटन विज्ञहरु पवन शाक्य, सुरेन्द्र राना, अमृत भादगाउँले, ज्योती सिंह सहितको टोलीले यो पदमार्ग एक्सप्लोर गरेको हो । सबै उमेर समूहका पदयात्रीले पदयात्रा गर्न सक्ने यस पद मार्गमा होटल तथा लजहरुको पनि सुविधा छ । यात्रामा धौलागिरि, अन्नपूर्ण र मानापाथि सहितका हिमाल, पुन समुदायको संस्कृति एवं जीवनशैली अवलोकन गर्न पाइन्छ ।

गाउँमा पुख्र्यौली नाच, यानीमाया, सालैजो, शिरफूले भाकामा नाचगान गरिन्छ । काफल डाँडामा करबाकेली थान छ । यो थान यस क्षेत्रको पुन समुदायको कुलदेवताको थान हो । तिनै देवताको नाउँमा यो पदमार्ग नामाकरण गरिएको हो। करबाकेली पदमार्गले कास्की, म्याग्दी र पर्वत गरि तीन जिल्लालाई समेट्छ।

पोखराबाट वीरेठाँटीसम्म बस वा जीपमा गएर पदयात्रा सुरु हुन्छ । पहिलो बास उल्लेरीको उकालो कटेर बस्नु पर्छ । दोस्रो दिन घोडेपानी हुन्छ । भने तेस्रो दिन बिहानै पुनहिलबाट हिमाल र सूर्योदय अवलोकन पछि लन्च खान फूलबारी पुग्न सकिन्छ । त्यहाँबाट हिँडेर साँझ काफलडाँडाको करबाकेली थानमा बास बस्न पुगिन्छ ।

करबाकेली थान बाट बेनी निस्कने चार वटा विकल्प छन्: पहिेलो बैसरी हुँदै बेनी, दोस्रो रिमा हुँदै औल गाउँ भएर बेनी, तेस्रो महभीर बाट बाँसखर्क, मल्लाज भएर बेनी र चौंथो नागी, पर्वतको फलामे डाँडा हुँदै बेनी निस्कने मार्ग । पर्यटकले आफ्नो समय अनुसार मार्ग रोज्न सक्नेछन् ।

आन्तरिक पदयात्रीका लागि समेत सस्तो र सजिलो यस पद मार्ग म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा एक्सप्लोर गरिएको करबाकेली पदमार्ग चाँडै लोकप्रिय हुनेमा हामी पूर्ण आशावादी छौं ।

Comments
* The email will not be published on the website.