हाम्रो (पुनहरुको) परिचय


हाम्रो (पुनहरुको) परिचय

पुन नेपालको आदिवाशी जनजातीहरु मध्ये सबै भन्दा बढी जनसंख्या भएको मगर जाति अन्तर्गत पर्ने ७ थरहरु मध्येको एउटा प्रमुख थर हो। पश्चिममा कर्णाली, पूर्वमा गण्डकी, दक्षिणमा महाभारत पर्वत र उत्तरमा हिमाल क्षेत्र भित्र पर्ने भूभागहरुमा पुन समुदायहरु आदिमकाल देखि बसोबास गर्दै आएको भएता पनि समयको क्रम संगै उच्च जीवनस्तर र राम्रो अवसरको लागि अहिले नेपालको विभिन्न शहरिय क्षेत्र र तराईको समथर मैदान देखि हंगकंग र संयुक्त अधिराज्य बेलायतमा पनि बढी संख्यामा बसोबास गर्दै आइ रहेका छन् भने कामको सिलसिलामा विश्वको विभिन्न देशहरुमा छरिएका छौं।

मगर जातिलाई १२ मगरातर १८ मगरात गरि मुख्य दुइ भागमा विभाजित गरिएको छ। पृथिबी नारायण शाहले १८ रौं शताब्दीमा नेपाल एकीकरण गर्नु भन्दा अघि मगरात क्षेत्र १८ र १२ राज्यहरुमा विभाजित भएको थियो। कालि गण्डकी देखि पश्चिममा १८ राज्यहरु भएकोले १८ मगरातर कालिगण्डकी देखि पूर्वमा १२ राज्यहरु भएकोले १२ मगरात भन्ने जनाउँछ।

१८ मगरातलाई मुख्य ४ थरहरुमा विभाजित गरिएको छ तिहुन्; घर्ति, बुढा, पुन र रोका। यसैगरि १२ मगरात लाई मुख्य ३ थरहरुमा विभाजित गरिएको छ ति हुन्; राना, थापा र आले। १८ मगरात ले बोल्ने भाषा लाई खाम र काईके भाषा भनिन्छ भने १२ मगरातले बोल्ने भाषा लाई ढुट भाषा भनिन्छ।

यसरी मगर जाति भित्र अहिले ७ थरहरु छन्र यी थरहरु भित्र ११०० भन्दा बढी उप-थरहरु भएको इतिहाँसकार तथा समाज शास्त्रीहरुले खोज तथा अनुसन्धान गरि पत्ता लगाएका छन्।

पुन थर भित्र पनि ५० भन्दा बढी उप-थरहरु छन् ति मध्ये केहि उप-थरहरु यस प्रकार छन्: गर्बुजा, पुर्जा, फगामी, पहरे, सुत, दुत, थाने, तिलिजा, चोचांगी, राम्जाली, रंतिजा, शेरपुन्जा, बुदुजा, खोरजा, अर्मजारपाईजा, खामे, थजाली, हुनाली, सामे, सोती, हुलंगे, लोंजा, राँके, थानी, कोरिजा, जुक्जली, उलांगे सिमपोइङ्गे ढगामी आदि। यी उपथर हरु क्षेत्र अनुसार अन्य थर अन्तर्गत पनि राखिएको छ। जस्तै; गर्बुजा, पाईजा, फगामी पुर्जा आदि उपथरहरु अन्य क्षेत्रहरुमा घर्ति थर अन्तर्गत पनि पर्छन्। रुकुम रोल्पा क्षेत्र तिर शामान पुरनशान (PuranTsan) लाई १८ मगरातको सबै भन्दा प्रशिद्ध र प्रथम पूर्खा मानिन्छ भने म्याग्दी र पर्बत क्षेत्रमा माच्छे पुरन नामले चिनिन्छन जुन नाम झाँक्री बस्ने बेलामा झाँक्रीहरुले करवाकेलिको ओखा भन्दा भन्ने गर्छन। शामान पुरनशान लाई १८ मगरातको पूर्खाको रुपमा मानिएता पनि म्याग्दी र पर्बत क्षेत्रको पुनहरुले करवाकेली बाबालाई आफ्नो कूलको रुपमा मान्छन् र हरेक बिजोडी (१, ३, ५ ) वर्षहरुमा करबाकेलि बाबाको कूल पूजा गर्दछन्। अन्य जात जातिहर को जस्तै पुन समुदायको पनि आफ्नै मौलिक भाषा (खाम भाषा), संस्कार तथा संस्कृति छ र बिगतको राज्य सत्ता ले म्याग्दी, पर्वत, बाग्लुंग रगुल्मी क्षेत्रमा बसोबास गर्ने मगर समुदायलाई आफ्नो मात्री भाषा बोल्न बन्देज लगाए पछि यस क्षेत्रको पुन समुदाय पनि बिगत लामो समय देखि आफ्नो मात्री भाषा विहिन हुन पुगेका छन्। हाम्रो भाषा, संस्कार तथा संस्कृतिहरु ठाउं अनुसार त्यो ठाउँमा बसेको समयको कालखण्ड र भौगोलिक बनौट अनुसार फरक फरक बन्दै जाने हुन्।

यसै क्रममा हामी म्याग्दी र पर्बत क्षेत्रमा सयौं बर्ष देखि बसोबास गर्दै आएको पुन समुदायहरुको भाषा, संस्कार तथा संस्कृति पनि अन्य क्षेत्रको मगरहरुको भन्दा फरक बन्दै गयो। यसरी हाम्रो एउटा फरक पहिचान बन्न गएको छ। यही हाम्रो फरक पहिचानलाई कालान्तर सम्म बचाउँदै लग्ने आज हाम्रो दायित्व पनि हो। त्येसैले पूर्खौली नाच, सोरठी, झ्याउरे, शिरफूल, यानीमाया, हाई हाल्ने जस्तो मौलिक संस्कृति र कूल पूजा, भूमेपूजा, भरा पूजा आदि जस्ता मौलिक संस्कारहरु सँरक्षण, सम्बर्द्धन र जगेर्ना गर्दै आएका छौं।

म्याग्दी र पर्बत क्षेत्रमा परम्परा देखि चलि आएको परम्परागत भेष भुषा अनुसार; पुरुषहरुले लगाउने पोशाकलाई तल्लोसेरे, भोटो, भाङ्ग्रा र टोपी भनिन्छ र पुरुषले कानमा लगाउने गहनालाई दुर्बिली भनिन्छ भने महिलाहरुले लगाउने पोशाकलाई फरिया, लुंगी, चौबन्दी चोलो, निलो पटुका र बोर्को मुजेत्रो भनिन्छ। यसै गरि महिलाले लगाउने गहनालाई मुन्द्री, बुलाकी, फुली, नौगेरी, जन्तर, कनठा र हरियो पोते भनिन्छ।

अन्तमा, हामी बेलायत मा सन् २००४ साल देखि वैधानिक रुपमा बसोबास गर्दै आए पछि हाम्रो मौलिक पहिचानलाई यस ठाउँमा पनि बचाउँदै भावी पुस्ताहरु सम्म पुराउन, हामीलाई एक-जुट बनाउन साथै यो विदेशको ठाउँमा दु:ख, आपत बिपत परेको बेलामा आर्थिक तथा नैतिक सहयोग दिनको लागि सन् २००७ सालमा पुन समाज यूकेको स्थापना भएको हो साथै २०१५ सालमा बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको एक आधिकारिक् समाज हो।

पुन समाज युके 

युके च्यारिटी न्. ११६०८४२