पुन समाज यूकेको (घोषणा पत्र)


पुन समाज यूकेको  (घोषणा पत्र)

इतिहाँसकार, मानव शास्त्री तथा समाज शास्त्रीहरुले मगर जाति भित्र आ-आफ्नो गोत्र, कुल अथवा बंशावली अनुसार जम्मा ७ प्रमुख थरहरुमा बिभाजन गरेका छन्। तिहुन्: थापा, राना, आले, घर्ती, बुढा, पुन र रोका र राज्यले पनि यिनै ७ थरहरुलाई थरको रुपमा आधिकारिक मान्यता दिएको छ।

यसै क्रममा पुन थर भित्र पनि ५० भन्दा बढी उपथरहरु छन्, जसलाई हाम्रो स्थानीय भाषामा पत भन्ने गर्छौं, यी उपथरहरु ठाउँ अनुसार फरक, फरक पाइन्छन्। जस्तै हाम्रो म्याग्दी, पर्बत क्षेत्र तिर पाइने उपथरहरु गुल्मी भार्से, बाग्लुंग र रुकुम रोल्पा तिर पाइंदैनन्। यसै गरि उता तिरको उपथरहरु हाम्रो तिर पाइंदैनन्। त्यसैले इतिहाँसको लामो कालखण्डदेखि धौलागिरी क्षेत्रको कालीगण्डकी सेरोफेरोमा बसोबास गर्दै आएका पुन समुदायहरु पनि मगर जातिको ७ वटा प्रमुख थरहरु मध्येको एउटा प्रमुख थर हौं भन्नुमा कुनै दुविधा रहेन।

कुनै पनि समुदायहरुको भाषा, संस्का र तथा संस्कृतिहरु समयको कालखण्ड र भौगोलिक बिभिद्धता अनुसार बन्दै जाने प्रक्रिया हुन्। यसै सन्दर्भमा म्याग्दी र पर्बत क्षेत्रमा लामो समय देखि बसोबास गर्दै आएका पुन समुदायको पनि त्येही प्रकृया अनुसार छुट्टै भाषा, संस्कार तथा संस्कृति बन्दै गयो। तर दुर्भाग्यबस बिगतको शासकहरुले मात्री भाषा बोल्न बन्देज लगाएपछि हाम्रो मात्री भाषा लोप भएर गएतापनि हामीले हाम्रो आफ्नै मौलिक संस्कार तथा संस्कृतिहरुलाई बचाउँदै आइरहेका छौं र यी हाम्रा सम्पदाहरुको संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्दै हाम्रो मौलिकता र हाम्रो चिनारी भावी सन्ततिहरुलाई हस्तान्तरण गर्दै लग्ने आज देश बिदेशमा छरिएर बसेको तपाई हामी पुन समुदायहरुको दायित्व हो।

मगर जाती बहुसांस्कृतिक, बहुसंस्कारिक र बहुभाषिक जाती भए जस्तै पुन समुदाय पनि बहुभाषिक, बहुसंस्कृतिक र बहुसंस्कारिक समुदाय हो। किनभने हाम्रो क्षेत्रको संस्कार तथा संस्कृतिहरु रुकुम रोल्पा र गुल्मी भार्से क्षेत्रको पुन समुदायहरुको भन्दा फरक छ। यसरी नै अन्य क्षेत्रको पनि आ-आफ्नै खाले संस्कार तथा संस्कृतिहरु छन् एक अर्कामा मेल खांदैनन्। यसै गरि पुन थर भित्रको उपथरहरु पनि क्षेत्र अनुसार फरक-फरक नै बन्दै गएका छन्। यो तथ्यलाई लिएर हामी फरक जाति भने कदापी होइनौं। किन भने मैले अघिनै भने जस्तै भौगोलिक बनौट र समयको कालखण्ड अनुसारनै यसरी आ-आफ्नै खाले भाषा, संस्कार तथा संस्कृतिहरु बन्दै गएका हुन्।

यसै सन्दर्भमा म्याग्दी र पर्बत क्षेत्रमा मात्र पुन थर भित्र झन्डै १८ उपथरहरु (१. गर्बुजा, २. पुर्जा, ३. फगामी, ४. पहरे, ५. थाने, ६. दुध, ७. सुत, ८. तिलिजा, ९. चोचांगी, १०. राम्जाली, ११. रन्तिजा, १२. शेरपुन्जा, १३. बुदुजा, १४. खोर्जा, १५. अर्मजा, १६. पाईजा, रोकाया र १८ थजाली ) भएको तथ्य समाजशास्त्री तथा मानवशास्त्रीहरुले उल्लेख गरेका छन्।

आजहामीले उपथरको पछाडी थर नलेखी जात मात्र लेखेता पनि आफ्नो थर पुन हो भनेर आफ्नो सन्तानहरु लाई ज्ञान दिंदै जानु जरुरि छ जस्ले गर्दा भोलि थर लोप भएर नजाओस्। किन भने जात या जाति, थर र उपथर गरि नेपालको जातीय संरचना बनेको यथार्थ लाई हामीले नकार्नु हुँदैन। यो नेपालको सबै जात-जातिमा प्रचलित छ। यहाँ केहि साथीहरु जस्ले आफ्नो नाम पछि आफ्नो थर पुन नलेखी उपथर लेखि त्यो उपथर पछि जात मगर लेख्नु भएको छ उहाँहरुले हाम्रो समाजको नाम पुन समाज यूके मात्र राख्दा हामी मगर भन्नेहरु लाई समेटिएन भनेर गुनासो गर्दै हुनु हुन्छ। त्यसैले उहाँहरु लाई मेरो सल्लाह के छ भने: पुन थर मगर जाति कै ७ प्रमुख थरहरु मध्येको एउटा थर हो भनि सकेपछि तपाईहरुलाई यो समाजको नामले समेटेन भन्ने कुनै आधारै छैन। यो त तपाईहरुको बुझाइको कमजोरी हो। यसो भन्दै गर्दा उपथर लेख्नै हुँदैन भन्न खोजेको नभै आफ्नो थर कुन हो त्यो भुल्न हुँदैन भन्न खोजेको मात्र हो। यदी पुन थर बाहेक अन्य थरि हुनु हुन्छ भने त पुन मगर समाजै राखे पनि समेट्ने भएन। त्यसैले यस्तो आधारहीन कुरामा बहस नगरौं भन्ने मेरो सल्लाह हो।

म्याग्दी क्षेत्रको हाम्रो केहि पुन दाजु भाईहरुको पुन थर भनेको पहरे पुन, थाने पुन, दुत पुन र सुत पुन हरु मात्र पुन हुन्र बाँकि पुर्जा, गर्बुजा, पाइजा, फगामी आदि कुनै पनि पुन थर होइनन भन्ने बुझाई छ र यो गलत बुझाई हो। यस्को ब्याख्या मैले अघिनै माथि गरि सकेको छु। यस्तो बुझाई हुनेहरु लाई हाम्रो इतिहाँस पढ्न र मनन गर्न मेरो सल्लाह छ। किन भने हालको म्याग्दी र पर्बत क्षेत्रमा हाम्रा पूर्खाहरु आउने क्रममा सबै एकैचोटी नआई विभिन्न कालखण्डमा आएको र सबै पुन थरि मात्र नआई १८ मगरात भित्र पर्ने अन्य थरिहरु (घर्ति, रोका र बुढा) पनि संगै आएको इतिहाँसकार तथा समाजशास्त्रीहरुले उल्लेख गरेका छन्। बिगतमा म्याग्दी, पर्बत क्षेत्रमा दुइ थरि घर्ति हरु हुन्थे; एक थरि १८ मगरात अन्तर्गत पर्ने घर्ति थर र अर्को सानो जाते घर्ति जस्लाई डोलेघर्ति पनि भनिन्थ्यो पछि गएर ब्रिटिश इन्डियन सेनामा भर्ति हुनेक्रममा घर्ति थर भन्दा मगर घर्ति हो कि सानो जाति घर्ति हो भनि शंका गर्ने कारणले सबैले पुन थर लेख्न थालेकोले गर्दा कालान्तरमा यस क्षेत्रमा मगर घर्ति थर नै लोप हुन गई सबै पुन थरि भएको पनि इतिहाँसकारहरु बताउछन स्मरण होस् सानो जाति घर्तीलाई त्यो समयमा भर्ति लिने चलन थिएन यसै कारणले गर्दा अन्य क्षेत्रको मगर घर्ति थरको उपथर / गोत्रहरु म्याग्दी र पर्बत क्षेत्रको पुन थरको उपथर / गोत्र हरुसंग मिल्न गएको हो भन्ने यथार्थ पनि हामीले बुझ्न जरुरि छ।

विश्वको अन्य देशहरुमा जस्तै नेपालमा पनि आफ्नो देशभित्र जात-जाति बनाउने अधिकार नेपाल सरकारमा मात्र निहितछ। आफु खुसि जात-जाति बन्ने/बनाउने अधिकार कसैलाई पनि दिईएको छैन। यसै सन्दर्भमा केहि बर्ष अघि हाम्रो क्षेत्रको मात्र पुन समुदायले उठाएको मुद्धालाई लिएर केहि पुनहरुले आफु खुसि पुन जाती भन्दै हिंडेको ब्याक्तिगत बिचारहरुलाई गम्भीर बिषयको रुपमा लिएर तर्सनु आफ्नै बुझाइको कमजोरी हो भन्ने मैले ठानेको छु। हामीले आफुखुसि पुन जाति भन्दैमा पुन जाति हुने र कसैले पुन लाई मगर होइनोउ भन्दैमा मगर नहुने होइन। त्यसकारण यस्ता अनौपचारिक र व्याक्तिगत अभिव्यक्तिहरुलाई कसैले गम्भीर रुपमा नलिन सबैमा मेरो आग्रह छ।

हामीले औपचारिक रुपमा हामी मगर जाति अन्तर्गत पर्छौं भनेर पुन समाज यूकेको आधिकारिक धारणा प्रस्तुत गर्दै गर्दा हाम्रो समाजको नाम पछि मगर नै झुनड़ाउनु पर्छ भन्ने जरुरि मैले देख्दैन र हाम्रो बहुमत समाजको धारणा पनि यही छ। पुन समाज यूके नाम गलत र पुन मगर समाज यूके नाम सहि लाग्ने धारणा भएका हरुलाई मेरो सुझाव के छ भने: वास्तवमा भन्ने हो भने जातिए एकताको लागि यी दुवै नामहरु उचित होइनन्। किन भने कुनै पनि थर विशेसको नाममा समाज खोल्नु नै त्यो समाजमा बिखन्डन ल्याउनु हो। यही कारण हो नेपाल मगर संघ र मगर संघ यूकेको सबै मगरहरुलाई हाम्रो समाजको नाम मान्य नभएको। जसरि आज रुकुम रोल्पाका १८ मगरात समुदायले आफ्नो भाषा, संस्कार तथा संस्कृतिहरु संरक्षन र प्रवर्द्धन गर्नको लागि समाजको नाम लुगुम गाउँको नाम बाट लुगुम्याल समाज राख्नु भएको छ यसरी नै हामीले पनि हाम्रो समाजको नामांकरण गरेको भए आज कुनै विवाद आउने थिएन। त्यसकारण हामी मगर जाति नै भएर समाजको वर्तमान नाम लाई नै कायम राखी हाम्रो मौलिकता र हाम्रो चिनारीलाई यो बिदेसी भूमिमा पनि संरक्षन र प्रवर्द्धन गर्दै जाउँ भन्ने हाम्रो मान्यता लाई सबैले मनन्गरि दिनु होला भन्ने आग्रह गर्दै नया कार्य समितिको आधिकारिक धारणार प्रति बद्धताहरू निम्नअनुसार प्रस्तुत गर्न चाहन्छु :

आधिकारिक धारणा तथा प्रतिबद्धताहरू:

१. "पुन थरले मगर जातिको ७ प्रमुख थर हरु मद्धेको एउटा थरको रुपमा कानुनी र वैधानिक मान्यता प्राप्त गरेको हुँदा यो समाजको नाम पुन समाज यूके भएता पनि हाम्रो जात मगर हो र पुन हाम्रो थर हो" भन्ने यो कार्यसमितिको आधिकारिक धारणा रहेको घोषणा गर्दछ।

२. "पुन समाज यूके" यूके मा बसोबास गर्नु भएका सम्पूर्ण पुन समुदायहरुको साझा समाज हो र यो समाज एउटा बिशुद्ध र स्वतन्त्र समाजको रुपमा रहँदै आएको छ। त्यसैले यो समाज लाई यसरी नै बिशुद्ध र स्वतन्त्ररुपमा अगाडी बढाउने हाम्रो प्रतिबद्धता भएको घोषणा गर्दछ।

३. “पुन समाज यूके” यो समाजको वैधानिक नाम हो। त्यसकारण विधानको नियम पालन गर्दै यो वैधानिक नामलाई यथावत नै राख्नेछौं र परिमार्जन गर्नु पर्ने अवस्था आएमा पनि विधान बमोजिम साधारण सभा बोलाई उक्त साधारण सभाको दुइ तिहाई बहुमतले पारित गरेमा मात्र परिमार्जन गर्ने हाम्रो प्रतिबद्धता भएको घोषणा गर्दछ।

४. यो कार्यसमितिले यूकेमा बसोबास गर्नु हुने पुन समाज यूकेको सम्पूर्ण सदस्यहरुलाई दुख, गार्हो तथा आपत, बिपत परेको बेलामा आवस्यक सबै किसिमको सहयोगहरु प्रदान गर्दै यो ठाउँमा पनि हाम्रो पहिचान लोप हुन नदिन हाम्रो संस्कार तथा संस्कृतिहरुको संरक्षन, सम्बर्द्धन र जगेर्ना गर्दै लग्ने हाम्रो पहिलो प्राथमिकता रहने हाम्रो प्रतिबद्धता भएको घोषणा गर्दछ।

५. युवा वर्ग हाम्रो भावी कर्णधार हुन्र हाम्रो दिगो पहिचान पनि युवा वर्गमा निहित हुन्छ। त्यसैले युवा वर्गलाई यस क्षेत्रमा अझ सक्रिय, सचेत र क्रियाशील बनाउंदै लग्ने प्रतिबद्धता गर्दै हाम्रो इतिहाँसको बारेमा गहन खोज तथा अनुसन्धान गर्दै बिधा बारिधि (PhD) गर्ने युवा वर्ग लाई आवस्येक सहयोग प्रदान गर्दै यस क्षेत्रमा पनि युवा वर्ग लाई हौसला दिने प्रतिबद्धता गर्दछ।

६. पुन समाज नेपाल, मगर संघ यूके लगायत यूके भित्र स्थापित सबै संघ संस्थाहरु संग समन्वय गर्दै सबै संग सुमधुर सम्बन्ध कायम गर्ने प्रतिबद्धता गर्दछ।

त्यसकारण म केमा जोड दिन चाहन्छु भने कसैको व्याक्तिगत स्वार्थको लागि नभएर सम्पूर्ण पुन समुदायको हित र भलाइको लागि हामी एक जुट भएर जानु को विकल्प छैन। त्यसैले जस्तो फरक बिचार हरु भएता पनि आफ्नो बिचार मा मात्र अडान नलिई सबै पक्षले लचिलो भएर समझदारीका साथ सहमति गरि बहुमत लाई मान्य हुने यो बिचको बाटो हिंडौं भनि यूके भरि छरिएर रहनु हुने पुन समुदाय मा हार्दिक अनुरोध गर्दछ। धन्यवाद।

जय पुन समाज यूके ! जय करवाकेलि बाबा !!


पुन समाज यूके

युके चरिटी न. ११६०८४२